काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपाली कांग्रेसमाथि ठूलो चुनौती आएको बताएका छन्।
प्रवासी जनसम्पर्क मञ्चले राजधानीमा आज संयोजन गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले 'प्रजातन्त्रवादीको खोल ओढेर केही दल आउन खोजेकाले सचेत हुन' पनि आग्रह गरे। माओवादी-एमाले लगायतका दलबीच बनेको वामपन्थी गठबन्धनले झन् समस्या ल्याउने भन्दै उनले यो एकताले झन् जटिलता थप्ने धारणा राखे।
'कांग्रेसमाथि चुनौती आउनु भनेको लोकतन्त्रमाथिको चुनौती हो,' गैर आवासीय नेपाली संघको सम्मेलनका लागि काठमाडौं आएका नेपालीहरुलाई सम्बोधन गर्दै उनले भने, 'लेनिनवादी, स्टालिनवादी, माओवादी कसरी प्रजातन्त्रवादी हुन सक्छन्?'
जनताका अधिकार स्थापना गर्न आफूहरु लागिरहेको अवस्थामा माओवादी एमालेबीचको गठबन्धनले अझ चुनौती थपिदिएको उनको भनाइ थियो। 'प्रजातन्त्रमाथि मात्र होइन यो मानवअधिकारमाथि आएको चुनौती पनि हो,' कांग्रेस सभापति समेत रहेका देउवाले भने।
विदेशमा बस्ने नेपालीहरुले देशको लोकतन्त्र रक्षाका लागि आफ्नो तर्फबाट भूमिका खेल्नसमेत उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।