काठमाडौँ- गए रातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको जानकारी दिए।
यस्तै भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्धार भएको मैनालीले बताए।
उनका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ। काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो।
प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरिएको छ। गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।