काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरर्जस्ती करणीको आरोप लगाउँदै आएकी गौशाला–२६ ले पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्च अदालत नजाने भएकी छन्।
उनले शुक्रबार सरकारी वकिलको कार्यालय र बुधबार महान्याधिवक्ता कार्यालयमा एक निवेदन दिँदै आफू उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च नजाने जानकारी गराएकी हुन्। साथै उनले अब उक्त मुद्दालाई थप अघि नबढाउनसमेत निवेदनमा अनुरोध गरेकी छन्।
महान्यायाधिवक्तालाई बुधाबार भेटेरै निवेदन दिएकी उनले आज भने सरकारी वकिलको कार्यालयमा पुगेर निवेदन दर्ता गराएकी हुन्। उक्त निवेदनमा उनले मुद्दा दर्ता भएदेखि नै आफूलाई मानसिकरुपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रतिवादीविरुद्ध भ्रमपूर्ण खबर फैलाएको र आफूमाथि दबाब बढाएको उल्लेख गरेकी छन्।
लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको भन्दै उनले मुद्दाको कारण आफू त्रासपूर्ण जिवन बाँच्दै आएको र मुद्दाले पार्ने दूरगामी असरबारे आफू त्यसबेला जानकार नभएको बताएकी छन्।
उच्च अदालतले फैसलामा लिएका आधारहरुलाई सम्मान गर्दै उनले अब मुद्दाको थप कारबाही अगाडि नबढाउन सरकारी वकिलको कार्यालयलाई अनुरोध गरेकी छन्।
गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो। जिल्लाले उनलाई ८ वर्ष कैद सजाय तोकेको थियो। तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको थियो।
फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ। उनले आफ्नो निवेदनमा फैसलाको पूर्णपाठ आफूले अध्ययन गरिसकेको र अब थप प्रक्रियामा नजाने बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।