काठमाडौँ- सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन्।
आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझ गरी ४५ दिन भित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ। सञ्चार मन्त्री गुरुङका नुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ। यस शोकको घडीमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन्। उनको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।