काठमाडौँ- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म एक सय ३० जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी जम्मा एक सय ३० जनाको मृत्यु भएको छ।
यसैगरी बाढी पहिराकै कारण आजसम्म काठमाडौँ उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौँ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ४४ जना घाइते भएका छन्।
बाढी पहिरामा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी नौ जना बेपत्ता भएका प्रवक्ता कार्कीले बताउनुभयो। बेपत्ताको खोजी जारी रहेको प्रहरीको भनाइ छ।
प्रवक्ता कार्कीले भने, ‘बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय २९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।’
बाढीपहिरोकै कारण आजसम्म पाँच सय ८९ वटा पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार नौ सय ९८ घरपरिवार विस्थापित भएका छन्।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।