काठमाडौं- बंगलादेशमा हिंसा भड्किएपछि त्यहाँका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। आरक्षणको विरोधमा गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि असुरक्षित महसुस विद्यार्थीहरु आफैँ तथा ढाकास्थित नेपाली दूतावासको सहजीकरणमा नेपाल फर्किंदै छन्।
हालसम्म ४०० जनाजति नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको बताइएको छ। ढाकास्थित नेपाली दूतावासले ढाकाभन्दा बाहिरका विद्यार्थीहरूलाई स्थलमार्गबाट सुरक्षित बाटो हुँदै भारतीय सीमातर्फ जान सहजीकरण गरेको जनाएको छ।
परराष्ट्र मन्त्रालय र ढाकास्थित नेपाली राजदूतावासले स्वदेश नफर्की बंगलादेशमै बस्न चाहने विद्यार्थीको पनि त्यहाँको सरकार र कलेज तथा विश्वविद्यालय प्रशासनसँग समन्वय गरी सुरक्षाको प्रत्याभूति गरिएको जनाएको छ।
प्रदर्शन हिंसात्मक बनेपछि बंगलादेश सरकारले इन्टरनेट बन्द गर्नुका साथै टेलिफोन लाइनहरूमा पनि अवरोध गरेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरुसँग भने कुराकानी हुन सकेको छैन।
मुख्यत: ढाकालाई छलेर स्थलमार्गबाट भारतको पश्चिम बङ्गाल तथा पूर्वोत्तरको राज्य त्रिपुरालगायत क्षेत्र हुँदै विद्यार्थीलाई फर्काइँदै छ।
बंगलादेशमा तीन हजार जति नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको बताइएको छ। त्यसमध्ये अधिकांश चिकित्साशास्त्र अध्ययनका लागि गएकाहरू छन्।
बंगलादेशमा विद्यार्थी र प्रहरीबीचको हिंसात्मक झडप जारी रहँदा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
राजधानी ढाकामा इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ भने टेलिफोन लाइनहरू पनि बन्द छन्। हजारौँ प्रदर्शनकारीहरूले बिहीबार साँझ सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेका थिए।
त्यसअघि आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पोस्ट लेख्दै बीटीभीले आफ्नो भवनभित्र धेरै कर्मचारीहरू फसेको भन्दै दमकल सेवालाई आगो निभाउन मद्दतका लागि अपिल गरेको थियो।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बुधबार राति टेलिभिजनमा देखा परेर सबैलाई शान्त रहन आग्रह गरेकी थिइन्।
केही दिनदेखि आरक्षणको विरोधमा बंगलादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको ज्यान गएको र सयौँ घाइते भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।