रौतहट- रौतहटको राजपुर नगरपालिकास्थित कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्।
राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो। केही युवाहरू उश्रृङ्खल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेको थियो।
सोही क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो। जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन्।
स्थिति नियन्त्रणमा लिन १२० प्रहरी टोली खटिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए। त्यसपछि स्थिति नियन्त्रण आएको प्रहरीले जनाएको छ।
बिहीबार साँझ साढे ६ बजेदेखि करिब आठ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रह्यो। नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए।
ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।