काठमाडौं- त्रिशुली नदीमा हराइरहेका दुई वटा बस खोज्न वाटर ड्रोन र क्यामेरा प्रयोग गरिएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशुलीमा खसेका बस खोज्न शनिबारबाट सशस्त्र प्रहरी बालका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेका हुन्।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले भने, हिजो दिनभरि खोज्दा पनि बस फेला परेनन्। मौसमले पनि साथ दिएन। आज बिहानैबाट वाटर ड्रोनको प्रयोग गरेर बस खोज्न थालेका छौँ ।’
बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर सहितको टिम परिचालन गरिएको छ । नेपाली सेनाका सहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशुलीमा दुई वटा डिलक्स बस खसेका थिए। काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन्।
एन्जल डिलक्समा २४ जना र गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए। दुईवटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अझै अज्ञात छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।