इनरुवा- अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ। पानीको सतह निरन्तर बढेपछि सतर्क रहन सुरक्षा निकायले आग्रह गरेको छ।
शनिबार साँझ पानीको बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन्। यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ। आज बिहान ४ बजेको मापनअनुसार एक लाख २४ हजार चार सय ६५ क्युसेक, दिउँसो १ बजे दुई लाख ४४ हजार क्युसेक र साँझ ५ बजे दुई लाख ८२ हजार छ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो।
लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
नारायणी नदीले पनि खतराको बिन्दु पार गरेको छ। देवघाटमा आज दिउँसो ४:४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ। सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन् ।
बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।