काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर डेंगु संक्रिमितको संख्या बढ्न सक्ने जोखिम सुरु भएको बताएको छ। महाशाखाकाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले मनसुन सक्रिय रहेको समयमा डेंगु संक्रमण पनि उच्च हुने बताए।
उनले भने, ‘जेठको अन्तिम सातादेखि मनसुन सक्रिय भइसकेको छ, त्यसैले यो महिनाको अन्तिम सातादेखि डेंगु संक्रमितको संख्या बढ्न सक्ने सम्भावन उच्च रहन्छ।’
महाशाखाको तथ्यांक अनुसार पुसदेखि असार २० गतेसम्ममा १ हजार ४३२ जनामा डेंगु संक्रमण भइसकेको छ।
सन् २०२२ र २०२३ मा नेपालमा डेंगु संक्रमण अत्यधिक बढेको थियो। सन् २०२२ मा ८८ जना र २०२३ मा २० जनाको मृत्यु समेत भएको थियो।
मनसुनको समयमा डेंगु संक्रमणको जोमिख उच्च हुने भएकाले अबको समय लामखुट्टेको टोकाइबाट बच्च डा दाहालको सुझाव छ।
एडिज जातको लामखुट्टेबाट डेंगु संक्रमण हुन्छ। लामखुट्टेको टोकाईबाट नेपालमा चार सेरोटाईपको डेंगु देखिएको छ।
नेपालमा पछिल्लो समय एक, दुई, तीन सेरोटाइपको डेंगु संक्रमित नेपालमा बढी रहेको डा विमल चालिसेले बताए। उनका अनुसार एकपटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुन डेंगु संक्रमण हुँदैन। तर एकपटक डेंगु भइसकेका व्यक्तिमा पुन डेंगु संक्रमण भएमा संक्रमितको अवस्था भने गम्भीर हुनसक्छ।
‘अहिले डेंगुको मृत्युदर कम छ भनरे हामी ढुक्क हुने अवस्था छैन,’ डा चालिसेले भने, ‘एकपटक डेंगु लागेको व्यक्तिलाई अर्को पटक डेंगु हुदा अर्को सेरोटाइपको भाइरसबाट हुने भएकाले दोस्रोपटक डेंगु भएका बिरामीमा गम्भीर समस्या आउने जोखिम बढी हुन्छ।’
डा चालिसेका अनुसार डेंगु संक्रमित सबै व्यक्तिलाई भने डेंगुको लक्षण नदेखिन पनि सक्छ। डेंगु संक्रमित ७५ प्रतिशतमा लक्षण नदेखिने भएकाले सरकारी तथ्यांकमा भए भन्दा धेरैमा डेंगुको संक्रमण भएको हुनसक्छ।
डा चालिसेले भने, ‘तथ्यांकमा प्रस्तुत भएको संक्रमितको संख्या त डेंगुको लक्षण देखिएर उपचार गर्ने क्रममा परीक्षणबाट आएको नतिजा मात्र हो, ७५ प्रतिशत संक्रमितमा लक्षण नदेखिने भएकाले समुदायमा लक्षणविहीन संक्रमित धेरै हुन सक्छन्।’
डेंगु नियन्त्रणमा कति छ बजेट?
सरकारले आगामी आर्थिक वर्ष अर्थात् २०८१/०८२ का लागि स्थानीय तहमा मात्र ७ करोड ९८ लाख रुपैयाँ डेंगु नियन्त्रणका लागि छुट्याएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालका अनुसार संघीय बजेट व्यवस्थामार्फत ७५३ स्थानीय तहका ७५३ पालिकामध्ये ४०२ पालिकालाई कुल ७ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
अघिल्ला वर्षहरुमा सबैभन्दा धेरै डेंगु संक्रमण देखिएको कोशी प्रदेशका ९८ पालिकामा सबैभन्दा धेरै बजेट विनियोन गरिएको छ। कोशी प्रदेशका ९८ पालिकामा २ करोड ६ लाख ५० हजार विनियोजन गरिएको छ।
कुन प्रदेशका कति पालिकामा कति बजेट?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।