काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय ढुकुछुले इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासीपूर्व र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको जानकारी दिए।
उनका अनुसार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव पनि बढ्ने पूर्वानुमान छ।
‘भोलि देशभरका अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्छ,’ उनले भने।
भारी वर्षाको सम्भावमा भएका क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।