धनगढी– सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट भौतिक तथा मानवीय क्षति हुने गरेको छ। विपद्बाट हुने क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी तथा कार्ययोजनाको आवश्यक पर्छ। तर, सुदूरपश्चिम प्रदेश सरकार र मातहातका जिल्ला प्रशासन कार्यालयले सो योजना तयारी गर्न सकेका छैनन्।
कार्ययोजना तयारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नुपर्ने हुन्छ। प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका संयोजक आन्तरिक मामिला तथा कानुनमन्त्री छन्। उनको सिफरिशमा प्रदेश विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषदले कार्ययोजना तयार गरि लागू गर्नुपर्छ। परिषदका संयोजक मुख्यमन्त्री रहने व्यवस्था रहेको छ।
सत्ता समीकरण फेरबदलसँगै बिहीबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले पदबाट राजीनामा दिएका छन्। मन्त्रीको राजीनामासंगै सो कार्ययोजनामा छलफल अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ। प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारी पार्टीको अधिवेशनका लागि काठमाडौंमा व्यस्त छन्।
प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौवटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानवीय क्षति हुँदै आएको छ।
प्रदेशका सात पहाडी जिल्लामा बाढी तथा पहिरो र तराईमा बाढी तथा डुवानसँगै चट्याङ, आगलागी, वन्यजन्तु आक्रमणलगायतका घटनाबाट मानविय तथा भौतिक संरचनामा क्षति हुने गरेको छ।
मंगलबार आएको भारी वर्षाका कारण कैलालीमा एक महिला र बिहिबार सेति नदीले बगाएर बझाङमा एक पुरुषको मृत्यु भइसकेको छ।
प्रदेशमा विपदका घटनाबाट दैनिकजसो जनजिवन प्रभावित हुँदै आएको छ। प्रदेशको आपत्तकालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०८० साउन देखि २०८१ असार २० गतेसम्म विपदका घटना पाँच सय ८७ भएका छन्। जसमा २० पुरुष र २१ महिला गरि ४१ जनाको मृत्यु भएको छ।
यसअवधिमा एक सय १३ महिला र ७६ पुरुष गरि एक सय ८१ जना घाइते भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। प्रदेशमा सबैभन्दा बढी आगलागीका घटनामा परि ११ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
प्रदेशमा विपदको सबैभन्दा दोस्रो बढी घटना सर्पदंश रहेको छ। सर्पदंशबाट सात जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्। प्रदेशमा बाढीका ३६ घटना भएका छन्। जसमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
यस्तै हावाहुरीमा चार, चट्याङ्गमा सात जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
विपद क्षेत्रमा काम गर्दै आएका उत्तम जोशीले तराईमा डुबान तथा बाढी र पहाडमा पहिरोका घटनाहरु बढिरहेको बताए। वातावरणीय प्रभाव मूल्यांकनबिनै बनाइएका भौतिक संरचनाका कारण पनि विपद्जन्य क्षति बढ्दै गएको उनको भनाइ छ।
उनले भने, ‘पहाडमा सडक निर्माणका नाममा मनलाग्दी सडक खन्ने, कमजोर भूबनोटमा ठूला मेसिन लगाउने र अनियन्त्रित नदीजन्य पदार्थ उत्खननका कारण पनि बाढी तथा पहिरोका घटना बढिरहेका छन्।’
राष्ट्रिय आपत्तकालिन कार्यसञ्चालन केन्द्रका अनुसार यस वर्षको वर्षातमा सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय घरपरिवार प्रत्यक्ष प्रभावित हुने उल्लेख छ भने एक हजार पाँच सय परिवारलाई उद्दार तथा राहत दिनुपर्ने उल्लेख छ। सो केन्द्रका अनुसार प्रदेशमा पछिल्लो दश वर्षमा बाढीबाट एक सय ११, पहिरोबाट एक सय ८०, अत्याधिक वर्षाबाट १३ र चट्याङ्गबाट ८४ जनाको मृत्यु भएको उल्लेख छ।
भनिएको छ –‘नौ जिल्लामध्ये अछाम जिल्ला मनसुनको अवधिमा बहुप्रकोपीय विपदबाट सबैभन्दा मानविय क्षति व्यहोर्ने जिल्लामा पर्दछ।’
वर्षेनि डुब्छ कैलालीको दक्षिण पूर्वि क्षेत्र
कैलालीको दक्षिण पूर्वी क्षेत्र वर्षेनि डुवान तथा कटानको जोखिममा पर्ने गरेको छ। कर्णाली, कन्द्रा र काढा लगायतका नदीको बाढी बस्तीमा पसेपछि विस्थापित तथा सुरक्षित आवास खोज्दै सडक क्षेत्रमा बस्नुपर्ने बाँध्यता रहेको छ।
मंगलबार परेको वर्षाका कारण कैलालीको कैलारी, भजनी, घोडाघोडी, लम्की चुहा, जोशीपुर, धनगढी लगायतका क्षेत्र जलमग्न भएका छन्। घर डुबानमा परेपछि विचल्ली भएको छ। कैलालीको भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए।
बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए। ‘वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन’, नगरप्रमुख चौधरीले भने, ‘डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने। पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन।’
हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ। भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ। ‘अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन’, नगर प्रमुख चौधरी भन्छन् ‘पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा पर्यौं।’
बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ। ‘घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ’, उनले भने, ‘सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्यौं।’
मानवीय निर्मित संरचनाले निम्त्याउँदै जोखिम
कैलालीका दक्षिण पूर्वी क्षेत्रमा निर्मित हुलाकी सडकका कारण पनि डुवानको जोखिम बढेको राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्रले तयार पारेको विपद पूर्वतयारी तथा कार्ययोजनामा उल्लेख छ।
वडा तथा बस्ती जोड्ने सडक सञ्जाल विपदमैत्री नबन्दा डुवानको जोखिम बढ्दै गएको जनाइएको छ।
जोशी भन्छन् –‘तराइमा डुवान तथा कटान हुनु एकैमात्र कारण छैन्। यहाँ थुप्रै समस्या छन्। केही प्राकृतिक कारण भएपनि अधिकाँस मानविय कार्यले बढी जोखिम निम्त्याएको छ।’ उनका अनुसार जथाभावी नदीजन्य पदार्थ उत्खन्न, विपदमैत्री विकास निर्माणमा ध्यान नदिनु, खोला नजिक घर निर्माण गरि बस्नु लगायत मानविय त्रृटी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।