काठमाडौँ- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ। मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए। बढेको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ।
नयाँ मूल्यसूची अनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ। यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।
यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ। यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो। आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ। अर्थात उपभोक्ता मूल्य भन्दा थोक मूल्य ३–३ रुपैयाँ सस्तो रहेको छ।
साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ। साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने भएको हो।
साल्ट ट्रेडिङले नुनको मूल्य समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।