काठमाडौँ- नेपाल पत्रकार महासंघको रक्षा र निकासका लागि विगतमा नेतृत्व गरेका र साझा चरित्र स्थापित गर्न सक्ने पत्रकारहरुको अगुवाइमा नयाँ समिति बनाएर अघि बढ्न माग गरिएको छ।
साझा लोकतान्त्रिक-प्रगतिशील गठबन्धनले आइतबार एक विज्ञप्ति जारी गरी महासंघको वर्तमान नेतृत्व र अध्यक्ष मण्डल विवादरहित ढंगबाट निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न असफल भएसँगै महासंघको साझा चरित्र कायम राख्नुपर्ने भन्दै नयाँ नेतृत्वका लागि माग गरेको पत्रकारका नेता जन्मदेव जैसीले बताए।
सदस्यता वितरणको सवाललाई लिएर पत्रकारका संघ/संगठनबीच आरोप-प्रत्यारोप सुरु भएपछि शनिबार एक भेला आयोजना गरी साझा गठबन्धनले ७ बुँदे माग राखी पत्रकार महासंघका सदस्यहरुको साथ लिएर नयाँ समिति गठन गर्न माग गरेको हो। साझा गठबन्धनका तर्फबाट योगेन्द्र शाही र प्रविण चौधरीले संयुक्त हस्ताक्षरित विज्ञप्तिमा समग्र नेपाली पत्रकारिता जगतकै प्रतिष्ठामा आँच पुर्याएकोले सम्भावित मुठभेडको अवस्थालाई मध्यनजर गरी ७ बुँदाहरुप्रति ध्यानाकर्षण गराएको छ।
आजै महासंघका पूर्व अध्यक्षहरुको बैठकले भने महासंघको संगठनमा प्रवेश गरेको अवाञ्छित बहुआयामिक हस्तक्षेपप्रति असहमति जनाएको छ। पूर्व अध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेसहित पाँच जना पूर्व अध्यक्षको बैठक बसेको छ। उनीहरुमध्येबाट नयाँ समितिका लागि नेतृत्वको माग गरिरहेका बेला बसेको उक्त बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
-1719760645.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।