काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्लायले भाडामा लगाएका सटरमा धमाधम ताला लगाउन थालेको छ। महानगरपालिकाको शिक्षा विभागले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ।
विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बल सहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो।
महानगरले रामशाहपथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र माविले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन। व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ।
‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,’ दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ। विद्यालयहरुले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।