काठमाडौं– सिनेमा 'गाउँ आएको बाटो'को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन्। नवीन सुब्बा निर्देशित यो सिनेमामा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन्।
सिनेमाको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन्। यसअघि उनी सिनेमाको गीतमा संगीत भर्न नेपाल आएकी थिइन्। सिनेमा गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन्।
यो उनको तेस्रो नेपाल भ्रमण हो। हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै सिनेमाको गीत तयार पारेकी छन्। सिनेमा छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन्।
सिनेमाको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ। उनी आफूले संगीत गरेको नेपाली सिनेमाको प्रतिक्रिया लिन उत्साहित छिन्।
'यो सिनेमा धेरै अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा देखायौं। यो सिनेमा जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ। म, यहाँका स्थानीय दर्शकसँग बसेर सिनेमा हेर्न निकै उत्साहित छु, 'हाइडीले भनिन्, 'म नेपाली होइन। तर, पनि मैले नेपालको यस्तो सिनेमामा संगीतदेखि पार्श्व ध्वनीमा काम गरेँ। मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।