ढाका – म्यान्मारबाट बंगलादेश छिरेर शरणार्थीका रुपमा रहेका लाखौं शरणार्थीलाई यहाँ जेलमा जस्तै राखिएको अधिकारवादीहरुले जनाएका छन्।
बंगलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिंग्या मुसलमान समुदायका शरणार्थीलाई यस्तो अवस्थामा राखेको समाचार यसअघि पनि आएको थियो।
उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ भने तोकिएको स्थानबाहेक अन्यत्र हिँडडुल गर्न पनि दिइएको छैन । त्यसैगरी उनीहरुलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनिएको छ।
बंगलादेशमा रहेका करिब पाँच लाख रोहिंग्या शरणार्थीलाई मोबाइल सेवा दिएमा दूरसञ्चार कम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ । उनीहरुका लागि आवश्यक खानेपानीका साथै अरु प्रबन्ध आधारभूत सेवाको प्रबन्ध पनि गर्न नसकिएको अधिकारीहरुले जनाएका छन्।
रोहिंग्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चार मन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिएका छन् । बंगलादेशको सरकारले सुरक्षाको कारण देखाउँदै मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ।
शरणार्थीको सुरक्षाका लागि मानवीय संवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।