काठमाडौं– निर्माता अर्जुन कुमारले 'सानो संसार' निर्माण गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै उनले सिनेमा निर्माणको घोषणा गरेका हुन्।
डेब्यू निर्देशक सिद्धार्थ पुडासैनीको निर्देशनमा बन्ने सिनेमाबाट केदार घिमिरे उर्फ माग्ने बुढाकी पत्नी तथा कलाकार सीतादेवी तिमल्सिनाले डेब्यू गर्ने भएकी छन्। उनले नै शुक्रबार सिनमाको मुहूर्त सट दिएकी थिइन्।
सीतादेवीका अलावा सिनेमामा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी आदिको अभिनय रहनेछ।
यो सिनेमा उनीहरू सबैको डेब्यू सिनेमा हो। यही जेठ अन्तिमबाट फ्लोरमा जाने सिनेमाको काठमाडौं, धादिङ र नुवाकोटमा छायांकन हुने जानकारी निर्माता कुमारले दिएका छन्।
शभमूहर्तमा सिनेमाको रिलिज मितिसमेत घोषणा गरिएको छ। घोषणा अनुसार सिनेमा असोज १७ गते घटस्थापनामा रिलिज हुनेछ।
अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको संयुक्त निर्माण रहने फिल्मले सानो परिवारको कथालाई पेश गर्ने निर्देशक पुडासैनीले बताए।
यसअघि स्टारहरुलाई लिएर सिनेमा बनाउँदै आएका अर्जुनकुमारले पछिल्लो समय स्टारभन्दा पनि कन्टेन्टमा दर्शकको रुचि भएकाले आफूले यसपटक स्टार नलिएको बताए।
‘फिल्ममा ‘स्टार’ चाहिन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ। नयाँले पनि धेरै राम्रो गर्न सक्छन्। एउटै कलाकार र निर्देशकको भरमा फिल्म क्षेत्र टिकिरहन्छ भन्ने होइन। केही नयाँ गर्नुपर्छ’, निर्माता अर्जुनकुमारले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।