काठमाडौं– कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव सुरु भएको छ। महोत्सवको आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन्।
महोत्सव जेठ ११ गतेसम्म झापा र विराटनगरमा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ। कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहरुमा विगतदेखि नै बाक्लोरुपमा चलचित्र छायाङ्कन हुँदै आएका छन्।
विभिन्न भाषा र जातिगत क्षेत्रीय चलचित्रहरु पनि कोशी प्रदेशमा छायांकन तथा निर्माण हुने गरेका छन्। कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका कतिपय केन्द्रिय स्तरका चलचित्रका केही भाग, गीत संगीतका दृश्य लगायत कथाले मागे अनुरुपका जातीय, भाषीय क्षेत्रका आधारमा समेत छायाँकन हुने गरेको छ।
तर त्यो हिसावले चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य गतिविधिहरु शुन्यजस्तै रहेकाले प्रदेशमा पहिलो पटक चलचित्र महोत्सवको आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताए।
उद्घाटन कार्यक्रम विभिन्न झाँकी प्रश्तुत गरिएको थियो। महोत्सवको व्यवस्थापन नेपाल चलचित्र संघ कोशी प्रदेशले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।