एजेन्सी - जापानको दक्षिण पश्चिमी भूभागमा बिहिबार भएको ज्वालामुखी विस्फोटबाट निस्केको खरानी छेउछाउका चार सहरमा फैलेको छ।
सिन्मोडाके ज्वालामुखी ६ वर्षयता विस्फोट भएको थिएन। स्थानीयले ज्वालामुखी विस्फोट हुँदाको आवाज सुनेको बताए।
जापानको दक्षिण पश्चिमका कागोसिमा र मियाजाकी प्रिफ्याक्चरको सिमानामा ज्वालामुखी पर्वतको क्रेटरबाट १७ सय मिटर (५६ सय फिट) अग्लो धुवाँ र खरानीको मुस्लो निस्केको सञ्चारमाध्यमले जनाएका छन् । ज्वालामुखीबाट निस्केको खरानी बिहीबार मियाजाकी प्रिफ्याक्चरका कम्तीमा चार सहर र नगरहरूमा फैलेको जनाइएको छ।
जापानी टेलिभिजन टिबिएसले ज्वालामुखी पर्वतको फेदमा रहेका प्राथमिक विद्यालयका विद्यार्थीहरू विद्यालय जाँदा हेल्मेट र मास्क लगाएको दृश्य प्रसारण गरेको थियो।
जापान मिटरोलजिक एजेन्सीले स्थानीयलाई ज्वालामुखी पर्वततर्फ नजान चेतावनी दिएको छ।
एजेन्सीले ज्वालामुखीबाट शुक्रबारसम्म खरानी र ढुंगा निस्कन सक्ने भन्दै स्थानीयलाई सावधान रहन भनेको छ । एजेन्सीका अनुसार ज्वालामुखीबाट निस्कने खरानी र ढुंगा जाने दिशा भने हावाको गति र ज्वालामुखीबाट निस्कने मुस्लोको आकारमा भर पर्ने पनि उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।