काठमाडौँ- ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्ष सहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ।महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बिहीबार शौचालयको शुभारम्भ गरे।
त्यस अवसरमा उनले ललितपुर महानगर भित्रका शौचालयहरू सफा र आपङगतामैत्री बनाउँदै लगेको बताए। उनले भने, ‘शौचालय भन्ने बित्तिकै फोहर र गन्हाउँछ भन्ने आमधारणा छ। त्यो धारणा बदल्न महानगरले शौचालय सुधारमा जोडदिएको छ। शौचालयको सहज रूपमा प्रयोग गर्ने गरी सफासुग्घर राख्ने हाम्रो योजना छ। सोहीअनुसार हाल शौचालय निर्माण भइरहेका छन्।ֹ’
महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको नगर प्रमुख महर्जनले बताए। उनले लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डीपीआरको काम भइरहेको जानकारी दिए।
ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नं ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणको काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।