काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगका गतिविध आफूले नजिकबाट नियालिरहेको बताएका छन्। बुधबार गण्डकी प्रदेश सभाका कांग्रेस सांसदहरूसँगको भेटघाटमा उनले अदालत र आयोगका गतिविधिलाई नजिकबाट हेरिरहेको बताए।
गण्डकी प्रदेश सभामा एमालेका खगराज अधिकारीलाई सभामुखले समेत विश्वासको मत दिएर बहुमत पुर्याएको घटनाक्रमबारे जानकारी गराउन प्रदेश सांसदको टोलीले बिहान बुढानीलकण्ठ पुगेर देउवालाई भेटेको थियो।
गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरूले सभापतिसँग कुरा राखेका थिए। त्यस विरुद्ध मंगलबार कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ।
सो क्रममा देउवाले कम्युनिस्टहरूको सत्ता कब्जाको शैली विरुद्ध लड्न तयार रहेको बताएका थिए। ‘कम्युनिस्टको सत्ता कब्जा गर्ने मनोविज्ञानसँग हामी लड्नुपर्नेछ। म लड्ने हो। तपाईंहरु लड्न तयार हुनुस्। मलाई साथ दिनुहोस्,’ देउवाले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।