काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन्।
मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो बताएका हुन्। उनले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्नेकुरा सम्भव नरहेको बताए।
उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्नेकुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए। उनले अरुलाई निषेध गर्ने तरिकाबाट प्रश्तुत हुने कुरा राम्रो नहुने बताए। बैठकले आगामी संसदको बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको उनको भनाइ छ।
उनले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसदमा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।