काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।
३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।
कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको दाबी गर्दै उक्त घोषणालाई बदर गर्न माग गरेका छन्।
उनले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन्।
गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्थ्यो। सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।