काठमाडौँ- बागमती प्रदेश सभा अन्तर्गतका पाँच वटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छन्। समितिमा सभापति चयन हुन नसक्दा महत्वपूर्ण मानिएका ती समितिहरुको कामकाज प्रभावित हुँदै आएको छ।
बागमती प्रदेश सभा अन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन्। ती सबै समितिमा सभापति चयन हुन सकेको छैन।
समितिमा सभापति चयन हुँदा कामकाज गर्न समस्या भएको कर्मचारी बताउँछन्। गत शुक्रबार बसेको बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकले प्रदेश सभा अन्तर्गतका पाँच वटै समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो।
बैठकले आगामी जेठ ४ गतेसम्ममा समितिको सभापतिहरु चयन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले बताए। सोही बैठकले प्रदेश सभाको बजेट अधिवेशनका लागि वैशाख ३१ गते बैठक आह्वान गर्न प्रदेश सरकारसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको सभामुख पाठकको भनाइ छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख १२ गते राति १२ बजेपछि प्रदेश सभाको तेह्रौँ अधिवेशन अन्त्य गरेका थिए। बाग्मती प्रदेश सभामा एक सय १० जना सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।