काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल कहिल्यै पराधिन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका दलहरु सबै मिल्नुपर्ने बताए।
उनले नेपाल इतिहासको सबैभन्दा सुन्दर घडीमा रहेको र नेताहरु जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने उल्लेख गरे। उनले निराशाको नाम दिने भन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्ने पनि बताए।
महामन्त्री शर्माले भने, ‘नेपाल अहिले इतिहासको सबैभन्दा सुन्दर घडीमा छ। कुन दल सरकारमा छ, कुन दल ठूलो छ, सरकारको नेतृत्व कसले गरिरहेको छ ? ती विषय तत्कालिक विषय हुन्। तर नेपाल देश लामो संशस्त्र संघर्षबाट शान्तिमा अवतरण भएको छ। नागरिक पंक्तिमा अत्यन्तै चेतना छ। कुनै पनि राजनीतिक नेतृत्व जनताको खरो प्रश्नभन्दा टाढा भाग्न सक्दैन। यस्तो अवस्थामा मुलुक बनाउन सबै दलहरु एक ठाउँमा उभिनुपर्छ।’
महामन्त्री शर्माले युवाहरुमा पनि नयाँ आशा भर्ने काममा सबै राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।