काठमाडौं- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल आइतबार मात्र फुटेको छ। तर, अशोक राईको नेतृत्वमा फुटेको सो दलले भने अहिलेकै सत्ता-गठबन्धनलाई साथ दिने भएको छ।
वरिष्ठ नेता राई आफ्नो पक्षमा बहुमत भएको दाबीसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि आज निर्वाचन आयोग पुगेका थिए।
पार्टी विभाजनका लागि ८ जना सांसदहरुको हस्ताक्षर सहित निर्वाचन आयोग पुगेका राई पक्षका नेता राजेन्द्र श्रेष्ठले विधान विपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताए। एकलौटी तरिकाले निर्णय गर्ने प्रवृत्ति बढेकाले आफूहरूले पहिलेदेखि विरोध गर्दै आएको प्रतिक्रिया उनले दिए।
उनले नेतृत्वको कार्यशैलीको विरोधमा आफूहरुले नयाँ दल खोल्ने निर्णय गरे पनि वर्तमान एमाले-माओवादी गठबन्धनलाई दिइएको समर्थन भने कायम नै रहेको उनले बताए।
नयाँ दलको नाम नेपाल हटाएर जसपा मात्र राखिएको श्रेष्ठले पत्रकारहरूलाई बताए। अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन्।
प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन्। तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।