काठमाडौँ- उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आइतबार मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए।
भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताए। ‘दुवै प्रतिनिधिमण्डलबीच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।
जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे। विदेश मन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उनले यसअघि काठमाडौँ दरबार क्षेत्रको अवलोकन गरेकी थिइन्।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।