काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन्। पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौँमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले प्रधानमन्त्रीको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर गरे।
सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाइ थियो। अध्यक्ष लिङ्देनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे। उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
लिङदेनले भने, ‘नेपालको निर्णायकत्व नेपालीको हातमा हुनुपर्छ भनेर हामीले गत निर्वाचनमा मुल नारा बनाएका थियौं। तर नेपालको सरकार कसेको हुनुपर्छ, कसको नेतृत्वमा हुनुपर्छ? चुनावमा पनि कुन पार्टी, कुन पार्टी मिलेर लड्नुपर्छ? भन्ने कुरा समेत विदेशीहरुले तय गर्न थाले।विदेशीहरुको दबाब, प्रभावमा भइरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छन् अहिले देशको स्थिति के छ?’
अध्यक्ष लिङदेनले आफूहरुले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।