काठमाडौं– भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन्।
नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आईतवार बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। उनले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानूनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यवसायिक हुनुपर्नेमा जोड दिए।
मन्त्री अधिकारीले घरजग्गा व्यवसायीहरुले व्यवसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भएमात्रै रियल स्टेट व्यवसाय सबल हुनसक्ने उल्लेख गरे। उनले घरजग्गा कारोबारलाई पारदर्शीता बनाउनु प्रमुख चुनौतिका रुपमा देखापरेको बताए।
मन्त्री अधिकारीले कानून बमोजिक व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजश्व गुमाउनुपरेको बताए। उनले कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानूनी संरक्षणसमेत कठिन भएको बताए।
उनले नेपालमा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेको बताए। उनले व्यवसायिकताको विकास, पारदर्शीता,जिम्मेवार परामर्श ग्राहकलाई अधिकतम छनोटको अवसर दिँदा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण परिर्वतन हुने अवस्था रहेको बताए।
उनले घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको बताए। उनले त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजिकरण गरेको दाबी गरे।
उनले घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धि ऐनमा आवश्यक संशोधन गरेको उल्लेख गरे। कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४ लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिए।
नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित,पारदर्शी र व्यवसायिक बनाउनको लागि ल्याण्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताए।
उनले टुक्रे योजनाहरुले नेपालमा व्यवस्थित शहरीकरण बन्न नसक्ने दाबी गरे। उनले व्यवस्थित शहरीकरण बनाउनको लागि निजी क्षेत्रलाई ल्याण्डपुलिङ सरकारले खोल्न आवश्यक रहेको उल्लेख गरे।
उनले व्यवसायीहरुले पछिल्लो ३० वर्षमा काठमाडौं उपत्यकामा ४ सय आयोजनाहरु सम्पन्न गरेको भएपनि मर्यादित बनाउन नसकिएको बताए। अध्यक्ष लोहनीले व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउनको लागि ल्याण्ड पुलिङ खोल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।