काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि हुँदैछ ।
उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए। उनीसँगै सरकारी पक्ष पनि उच्च अदालत पुगेको छ। लामिछानेले जिल्लाको फैसला बदर गर्दै उच्च अदालतबाट सफाइ पाउनुपर्ने माग गरेका छन्।
सरकारले पनि नाबालिग बलात्कारकै कसुरमा सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेको छ। लामिछानेको मुद्दामा यो सुनुवाइपछि फैसला वा आवश्यक आदेश हुन सक्नेछ।
जिल्ला अदालत काठमाडौंले एक युवती बलात्कारको आरोपमा सन्दीपलाई ८ वर्ष कैदको फैसला गरेको थियो। जिल्लाले जाहेरीकर्ता भने बालिग रहेको ठहर गरेको थियो। उक्त फैसलापछि उच्च अदालत पुगेका सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा पाएका थिए। उनले थुना बाहिरै रहेर मुद्दा लडिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।