न्युयोर्क (एजेन्सी)– अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले आफ्नो पति राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभानामाथि गम्भीर आरोप लगाएकी छन्। उनले भनेकी छिन्, ‘इवाना आफूतिर ध्यान तान्न र आफ्नो स्वार्थका लागि ठूलो कुरा गर्ने महिला हुन्।’
इभानाले आफ्नो किताबको प्रचार गर्ने क्रममा ठट्टा गर्दै पहिलो प्रथम महिला आफू भएको बताएकी थिइन् । आफ्नो नयाँ किताब ‘राइजिङ ट्रम्प’ को प्रचारका लागि एबिसी न्युजलाई अन्तर्वार्ता दिने क्रममा ६८ वर्षीय इवानाले अमेरिकाको ४५औं राष्ट्रपति ट्रम्पसँगको आफ्नो सम्बन्धको खुलासा गरेकी थिइन्।
उनले ठट्टा गर्दै भनिन्, ‘मसँग ह्वाइट हाउसको सोझो सम्पर्क नम्बर छ । तर, म उनीहरुलाई फोन गर्न चाहन्नँ । त्यहाँ मेलानिया छिन् र म उनी जलून् भन्ने चाहन्नँ । सोझो हिसाबले म ट्रम्पकी पहिलो श्रीमती हुँ।’
सिएनएनले मेलानियाकी प्रवक्ता स्टेफनी ग्रिशामको वक्तव्य प्रकाशन गरेको छ । जसमा भनिएको छ, ‘श्रीमती ट्रम्पले ह्वाइट हाउसको बेरन र राष्ट्रपतिका लागि घर बनाएकी छिन् ।’ बेरन ट्रम्पको सानो छोरा हुन्।
ग्रिशामले राष्ट्रपति ट्रम्पको पहिलो श्रीमतीको यो प्रतिक्रियामा कुनै दम नभएको बताएकी छिन् । ‘उनले आफूले ध्यानाकर्षण गराउन र आफ्नो स्वार्थका लागि मात्र त्यसो भनेकी हुन्’, ग्रिशामले भनेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।