कास्की-पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको १७ लाख जम्मा गर्न बिहीबार १ः३० बजेतिर बैंकतर्फ लागे।
मोटरसाइकलको लेगगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित कृषि विकास बैंक पुगे । बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन । पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाएनन् । वरपर खोज्दा झोला फेला नपरेपछि ठूलो तनावमा परेका उनले प्रहरीलाई खबर गरे ।
पोखराको मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालित भयो । हराएको पैसाको झोला भारत घर भई पोखरा–३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा फेला पारेका रहेछन् । टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा खोजीमा खटिएको प्रहरी टोलीले भेटाएको थियो । शर्माको साथमा मोबाइल नभएकाले प्रहरीमा समयमै सम्पर्क गर्न सकेका थिएनन् ।
'पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो ।' प्रनाउ शर्माले भने, 'पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नुभएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै पैसाको झोला बुझाए ।'
प्रनाउ शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा–५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनार बुझाइएको जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।