फाइल तस्बिर
काठमाडौं। लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडकखण्डमा पहिरो, बाढी र सडक कटान भएपछि सवारी आवागमन प्रभावित भएको छ।
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ भने कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको हो।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा २०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।
यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। २०८३ भदौ १० गते आएको बाढीका कारण सडकको अधिकांश भागसमेत नष्ट भएको प्रहरीले जनाएको छ।
त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने पासाङ ल्हामु राजमार्गको अधिकांश भाग त्रिशूली नदीले कटान गरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। स्याफ्रुबेंसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किलोमिटर–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्ने एक लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
कोशी प्रदेशका विभिन्न सडकमा रातिको आवागमन बन्द
ताप्लेजुङमा २०८३ असोज ८ देखि ११ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म भित्री सडकमा सवारी आवागमन बन्द गरिएको छ। मेची राजमार्ग भने आवश्यकताअनुसार मात्र सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
भोजपुरमा असोज ८ गतेदेखि अर्को आदेश नभएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सोलुखुम्बुमा असोज ८ गतेदेखि अर्को आदेश नभएसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सिद्धिचरण लोकमार्गमा आवागमन बन्द गरिएको छ।
उदयपुरमा असोज ८ देखि १२ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कटारी–घुर्मी सडकखण्डमा सवारी आवागमन रोकिएको छ। खोटाङमा असोज ८ देखि ९ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मध्यपहाडी लोकमार्गमा आवागमन बन्द गरिएको छ।
इलाम र पाँचथरमा असोज ८ देखि ११ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मेची लोकमार्ग तथा भित्री सडकखण्डमा सवारी आवागमनमा रोक लगाइएको छ।
धनकुटामा असोज ७ देखि ११ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म कोशी लोकमार्ग तथा भित्री सडकखण्डमा आवागमन बन्द गरिएको छ। तेह्रथुममा असोज ८ देखि ९ गतेसम्म सोही समयावधिमा कोशी लोकमार्ग तथा भित्री सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
दाङ र रोल्पामा पनि सडक बन्द
दाङमा असोज ८ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विभिन्न सडकखण्ड बन्द गर्ने निर्णय गरिएको थियो।
यसअन्तर्गत राप्ती राजमार्गको तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङ–गनाहा खोला, शहीद मार्गको घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डको तुलसीपुर–कालीमाटी खण्ड रहेका छन्। जिल्ला प्रशासन कार्यालय दाङले असोज ९ गते जारी गरेको सूचनाअनुसार केही सडकखण्डमा असोज ११ गते साँझ ६ बजेसम्म पूर्ण रूपमा आवागमन बन्द गरिएको छ।
रोल्पाको माडी गाउँपालिका–३ गरगरेमा घोराही–थवाङ–रुकुम शहीद मार्गमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि भारी वर्षाको जोखिमका कारण रोल्पा नगरपालिका–७ माडिचौरस्थित मदन भण्डारी राजमार्गमा पनि असोज ८ गतेदेखि १२ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो।
गण्डकी प्रदेशमा पनि दर्जनौँ सडक प्रभावित
मनाङमा जिल्ला प्रशासन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार असोज ८ देखि १२ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बेंसीसहर हुँदै खाङसार जाने सडक तथा लमजुङको सीमादेखि खाङसारसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
कास्की, मुस्ताङ र म्याग्दीमा असोज ८ गते साँझ ६ बजेदेखि असोज ११ गते बिहान ६ बजेसम्म रातिको समयमा क्रमशः ग्रामीण क्षेत्र तथा जिल्लाभित्रका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
पर्वतमा असोज ९ गते साँझ ७ बजेदेखि १० गते बिहान ६ बजेसम्म पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाभित्र पर्ने करिब ५० किलोमिटर सडकखण्ड बन्द गरिएको थियो।
मनाङको नासों गाउँपालिका–३ खोत्रोमा चामे–बेंसीसहर सडकखण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ कालोभीरमा पहिरो खसेपछि जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ। त्यस्तै लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ सेल्फीडाँडामा लेदो आएपछि सोही सडकखण्ड अवरुद्ध भएको छ।
बागलुङको निसीखोला गाउँपालिका–४ कानाबगरमा मध्यपहाडी लोकमार्ग तथा जैमिनी नगरपालिका–८ बेलबगरमा कालीगण्डकी करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गुल्मीमा रिडी–तम्घास मदन भण्डारी राजमार्गको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा पहिरो खसेर सडक अवरुद्ध भएको छ। चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरमा लेदोसहितको पहिरोका कारण रुद्रवेणी–वामीटक्सार सडकखण्ड बन्द भएको छ। कालीगण्डकी गाउँपालिका–२ राक्सेमा कालीगण्डकी करिडोरमा लेदोसहितको पहिरो तथा गाउँपालिका–४ पातीखोलामा खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको छ।
बागमती प्रदेशका मुख्य सडकमा समस्या
चितवन र आसपासका क्षेत्रमा लगातार वर्षा भइरहेकाले नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसिरहेका कारण अर्को सूचना नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको छ।
धादिङमा पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा लगातार पहिरो खसिरहेकाले अर्को सूचना नभएसम्म आवागमन बन्द गरिएको छ। बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर तथा गजुरी गाउँपालिका–२ क्षेत्रमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक प्रभावित भएको हो।
मकवानपुरमा पृथ्वी राजमार्ग तथा कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ प्रयोग गर्ने व्यवस्था गरिएको छ। हेटौँडाबाट काठमाडौं जाने सवारीलाई चौकीटोल तथा काठमाडौं–हेटौँडा आउने सवारीलाई सिमभञ्ज्याङ चौकीबाट तोकिएको समयअनुसार सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
मालवाहक सवारीसाधनतर्फ इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्काभन्दा लामो र १५ टनभन्दा बढी भार भएका सवारीलाई उक्त सडकखण्डमा अर्को व्यवस्था नभएसम्म पूर्ण रूपमा निषेध गरिएको छ। यात्रुवाहक सवारीका हकमा ११ मिटर लम्बाइसम्मका सवारीले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।
सिन्धुलीमा असोज ८ देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा आवागमन पूर्ण रूपमा रोकिएको छ। दोलखामा असोज ८ देखि १० गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका सडकमा सवारी आवागमन रोकिएको छ।
काभ्रेमा असोज ८ देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकमा असोज ८ देखि ९ गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी लोकमार्गमा सवारी सञ्चालन बन्द गरिएको छ।
काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा बीपी राजमार्गमा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका–८ पकुचामा अरनिको राजमार्गमा ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलानजिक हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्डमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा लेदोसहितको पहिरो तथा पाङदुरडोलमा ढुंगा खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ।
मध्य तथा पश्चिम नेपालका राजमार्गमा पनि अवरोध
सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डमा ढुंगा, लेदो र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कर्णाली राजमार्गको गगने खोलामा ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पनि पहिरो खसेपछि कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा कालीगण्डकी करिडोरमा लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। पाल्पाको रामपुर नगरपालिका–१ कासिबनमा कालीगण्डकी करिडोरमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।
पाल्पाको माथागढी गाउँपालिका–१ अगाहाखोलानजिक सिद्धार्थ राजमार्गमा रुख ढलेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका–४ बरबोटमा सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा पहिरो खसेपछि सडक बन्द भएको छ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ ऐरिछिनामा महाकाली राजमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्डमा ठूलो ढुंगा खसेर सडक अवरुद्ध भएको छ। सो स्थानमा साना सवारीसाधन भने सञ्चालन गर्न सकिने प्रहरीले जनाएको छ।
डोटीमा लगातार वर्षा भइरहेको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म जिल्लाभर सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित सिद्धिचरण लोकमार्गको भँडारे खोलामा लेदोसहितको बाढी आएर सडकको भाग गहिरो बनाएपछि करिब १५ मिटर सडकमा क्षति पुगेको छ। उक्त कारण लोकमार्ग अवरुद्ध भएको छ।
प्रहरीका अनुसार बागलुङको मध्यपहाडी लोकमार्ग, गुल्मीको विभिन्न सडक, रोल्पाको शहीद मार्ग, कालिकोटको कर्णाली राजमार्ग, काभ्रेको अरनिको राजमार्ग, सल्यानको राप्ती राजमार्ग, म्याग्दीको बेनी–जोमसोम सडक, मुस्ताङको जोमसोम–कोरला सडक तथा अन्य सडकखण्डमा समेत पहिरो र बाढीका कारण आवागमन प्रभावित भएको छ।
सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायले वर्षाका कारण सडकमा जोखिम बढेकाले तोकिएको समय तथा प्रभावित सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरेका छन्। सडकको अवस्था हेरेर आवश्यक उद्धार तथा अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।