काठमाडौं– नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी गराउने भएको छ।
असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निमन्त्रणा गरेको हो।
कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाका अनुसार शुक्रबार तीनै नेतासँग भेट गरी महाधिवेशनमा उपस्थितिका लागि निमन्त्रणापत्र हस्तान्तरण गरिएको छ।
महाधिवेशन उद्घाटन समारोहमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेतृत्वलाई एकै ठाउँमा उपस्थित गराउने तयारी कांग्रेसको छ। त्यसैअनुसार प्रमुख दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका एक पदाधिकारीका अनुसार उद्घाटन समारोहमा छिमेकी मुलुकका राजनीतिक तथा अन्य प्रतिनिधिलाई समेत अतिथिका रूपमा बोलाउने तयारी भइरहेको छ।
कांग्रेसले महाधिवेशनलाई पार्टीको आन्तरिक नेतृत्व चयनसँगै विभिन्न राजनीतिक दल तथा अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितासहितको कार्यक्रमका रूपमा अघि बढाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।