काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यसबाहेक काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको छ। प्रहरीले शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६१ गरी कुल ३ हजार ३९१ वटा डीएनए नमुना संकलन गरिएको छ।
त्यस्तै, पहिचान हुन नसकेका १ हजार ४२१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य जारी छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल १ हजार २७९ जनालाई राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।