काठमाडौं। विश्वकप विजेता स्पेनले शनिबार इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै नेसन्स लिगमा विजयी सुरुआत गरेको छ।
वेम्बलीमा भएको खेलमा दुई गोलले पछि परेको स्पेनले पुनरागमन गर्दै आफ्नो अपराजित यात्रा ३९ खेलमा पुर्याएको छ।
स्पेनका लागि मिकेल ओयार्जाबालले ७४औं मिनेटमा निर्णायक गोल गरे। ओयार्जाबालले सन् २०२४ को युरोपियन च्याम्पियनसिपको फाइनलमा पनि इंग्ल्यान्डविरुद्ध स्पेनका लागि निर्णायक गोल गरेका थिए।
खेलको सुरुआतमै स्पेनले अग्रता लिएको थियो। दोस्रो मिनेट नपुग्दै लामिन यमलले गोल गरे।
इंग्ल्यान्डले ३६औं मिनेटमा एन्थोनी गोर्डनमार्फत खेल बराबरीमा ल्यायो। त्यसको चार मिनेटपछि ह्यारी केनले हेडरमार्फत इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफको सुरुआतमा इंग्ल्यान्डसँग अग्रता बढाउने अवसर थियो। स्पेनका रोड्रीले केनलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रीको समीक्षापछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो। तर‚ केन पेनाल्टी प्रहार गर्ने क्रममा चिप्लिएपछि गोल गर्न सकेनन्।
त्यसको फाइदा स्पेनले उठायो। ६०औं मिनेटमा एलेक्स बाएनाले निको ओ'राइलीको गल्तीको फाइदा उठाउँदै खेल २–२ को बराबरीमा पुग्यो। त्यसपछि ओयार्जाबालले गोल गर्दै स्पेनलाई पुनरागमनसहित ३–२ को जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।