काठमाडौँ-यही चैत २६ गते सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।
आगलागी घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले मङ्गलबारदेखि घटनास्थललाई सिल गरेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार आगलागीबाट क्षति भएका सामानको विवरण सङ्कलनको काम थालिएको छ । प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याइ सिल गरी सुरक्षित स्थानमा राखिएको छ। भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेख अध्ययन गरी के–कति सामान रहेको र कति क्षति भएको भन्ने विवरण सङ्कलन गरिरहेको समितिले जनाएको छ ।
भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित सात जनालाई भण्डारण गरिएको सामानको विवरणबारे सोधपुछका लागि झिकाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका, त्यस दिन ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मूलगेटमा खटिएका दुई जनालाई सोधपुछका लागि मुख्यालय झिकाइएको छ ।
छानविन समितिले स्टोरको सुरक्षार्थ राखिएको सिसी क्यामेराको फुटेज अध्ययन गरेको छ । फुटेजमा भवनको बीचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्ड भित्र ठूलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेको देखिएको छ । आगलागीबाट फ्रि स्केलका सामान, विपद् उद्धारका सामान समेत जलेर नष्ट भएका छन् ।
सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा रहेपनि केही वर्ष अघिदेखि शाखा स्टोरको रुपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।