सर्लाही- सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन्।
जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका- ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थीलाई प्रहरीले सूचनाका आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृष्ण महतो छन्।
कृष्ण आइतबार भिनाजु राकेशकुमार महतो (सिम्बोल नं ०२२१००४५) अनिवार्य गणित विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए।
कृष्णलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेको पुष्टि गरेपछि पक्राउ गरेको हो। कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका- १ धोबिनयाँका विद्यार्थी हुन्।
राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले बताए।
नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ।
तीन केन्द्राध्यक्ष निष्काशन
सर्लाहीमै एसईई परीक्षा मर्यादित रुपमा सञ्चालन गर्न नसकेको भन्दै आइतबार तीन जना केन्द्राध्यक्षलाई निष्काशन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ।
तेस्रो दिन सञ्चालन भएको अनिवार्य गणित विषयको परीक्षामा आफ्नो परीक्षा केन्द्र भित्र मर्यादा कायम गर्न नगर्ने तीन जना केन्द्राध्यक्षलाई कारबाही स्वरुप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो।
आइतबार साँझ जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा बसेको समितिको बैठकले गम्हरिया, बेल्ही र हरकठवा माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष फेर्ने निर्णय गरेको हो।
उनका अनुसार मलङ्गवा नगरपालिका–११, गम्हरियामा रहेको श्रीमती लक्ष्मीदेवी जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा सोही विद्यालयका प्रधानाध्यापक दिनेश रायलाई हटाएर सहायक केन्द्राध्यक्ष वसन्त कुमार प्रसाद साहलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ।
यस्तै चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष वीरेन्द्र चौधरीलाई हटाएर उहाँको स्थानमा कविलासी नगरपालिकास्थित सलेमपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्र रायलाई केन्द्राध्यक्ष बनाएर पठाइएको छ।
त्यसैगरी जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रका केन्द्राध्यक्ष एवं सोही विद्यालयका प्रधानाध्यापक रामनारायण यादवलाई जिम्मेवारीबाट हटाएर गोडैता नगरपालिकास्थित सिसौटिया माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई नयाँ केन्द्राध्यक्ष नियुक्त गरेर खटाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।