काठमाडौं- नवीन सुब्बा निर्देशित सिनेमा 'गाँउ आएको बाटो' ले विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सव पुग्ने क्रमलाई जारी राखेको छ।
टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिवलमा विश्व प्रिमियर गरेर सिनेमा महोत्सवको यात्रा सुरु गरेको यो सिनेमा छिमेकी राष्ट्र चीनको बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिवलको १२औं संस्करणमा छनोट भएको छ।
यसअघि प्रतिष्ठित ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ स्वीडेनमा छनोट भएको यो सिनेमाको वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा एसियन प्रिमियर र मामी मुम्बईमा साउथ एसियन प्रिमियर भइसकेको छ।
सिनेमामा राई जातिको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ। सामुदायिक लगानीको अवधारणामा निर्माण भएको ‘गाउँ आएको बाटो’मा देश भित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामूहिक लगानी गरेका छन्।
छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमा नेपालमा बाँसुरी फिल्मसको संयोजनमा आगामी वर्ष जेठ १८ गते रिलिज हुनेछ।
‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।