धनगढी- कैलालीको गौरीगंगा नगरपालिका- ३ स्थित शिवगंगा नदीमा भइरहेको अवैध नदीजन्य सामग्री उत्खनन्मा प्रयोग भइरहेका सवारी साधनलाई जरिवाना गराई छोडिएको छ।
राजिवभुगडामा जथाभावी उत्खनन्को समाचार प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र नेतृत्वको टोलीले अनुगमनका क्रममा नियन्त्रणमा लिएका सवारी साधनलाई जरिवाना गराई छोडिएको हो।
जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले ६ वटा ट्याक्टर, एक टिपर, जेसीवी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चौमाला बुझाइएको जानकारी दिए। ती सवारी साधनलाई जरिवाना गरी छोडिएको उनको भनाइ छ।
शिवगंगा खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का सम्झौता गरेको विश्वास कन्स्ट्रक्सनले वातावरणीय प्रभाव मूल्यांकनभन्दा बढी र तोकिएको क्षेत्रभन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानी गरिरहेको नगरपालिकाकै अनुगमन प्रतिवेदनमा उल्लेख छ।
वातावरणीय प्रभाव मूल्यांकन अनुसार सो कम्पनीले कुचौनी घाटमा १५ हजार एक सय २५ घनमिटर र शिवगंगा पुलबाट उत्तरतिर सात हजार आठ सय ७५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने उल्लेख छ।
ती सवारी साधनलाई जरिवाना गरी छाडेपछि निर्वाध रूपमा सोही क्षेत्रमा नदीजन्य पदार्थ उत्खन्न गर्न प्रयोग भइरहेको स्थानीय बताउँछन्।
कम्पनीले ठेक्का सम्झौता गरेयता सो सो क्षेत्रका सामुदायिक वन, चुरे भावर क्षेत्रमा नदिजन्य सामग्री उत्खनन् गरिरहेको उनीहरुको भनाइ छ।
सूचना अधिकारी जोशीले कम्पनीले तोकिएकोभन्दा बढी गहिराइ पारेर ढुङ्गा, ग्राभेल लगायतका सामाग्री उत्खनन् गरिरहेको अनुगमनका क्रममा फेला परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।