काठमाडौं– ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण रामेछापमा हुने भएको छ। महोत्सव आगामी वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा हुनेछ।
बुधबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराइएको हो। महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु महोत्सवमा प्रदर्शन गरिनेछ।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम महोत्सवका दौरान गर्ने जानकारी दिएका छन्।
रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुन लागेको महोत्सवमा २ दर्जनभन्दा बढी फिल्म प्रदर्शन गरिनेछ। महोत्सव संयोजक निर्देशक कमल एक्चै मगरले गृहजिल्लामा महोत्सव गर्न पाउँदा उत्साहित बनेको बताए।
एउटा पनि सिनेमा हल नभएको रामेछाप जिल्लाका स्थानीयहरुले हलमा सिनेमा हेर्नुपरेमा ५० किलोमिटरको यात्रा तय गरेर सिन्धुली पुग्नुपर्छ। आयोजकले महोत्सव फिल्मप्रति रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने र नेपाली फिल्मको प्रचार-प्रसारमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
महोत्सवमा ३ हजारभन्दा बढी स्थानीय दर्शक सहभागी हुने आयोजकको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।