काठमाडौं– ‘जात्रा’ फ्रेन्चाइज निर्माण गरेको षट्कोणले आफ्नो आगामी सिनेमाको रिलिज मिति घोषणा गरेको छ। षट्कोण आर्टसले अब नयाँ फिल्म वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने घोषणा गरेको हो।
रिलिज मिति घोषणा गरे पनि उनीहरुले कस्तो सिनेमा बनाउन लागेका हुन्, त्यसको बारेमा भने केही सार्वजनिक गरेका छैनन्। उनीहरुले हाल प्रदर्शनरत: ‘महाजात्रा’मा समाविष्ट ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सोको जानकारी दिएका हुन्।
सार्वजनिक गीतको भिडियोको अन्तिममा उनीहहरु आफ्नो नयाँ सिनेमा डेढ बर्षपछि रिलिज गर्ने घोषणा गरेका हुन्। यसरी दशैं नै ताकेर सिनेमा घोषणा गर्ने षट्कोण एक्लो ब्यानर होइन। अन्य ब्यानरले पनि दशैं तोकेर सिनेमा रिलिजको घोषणा गरिसकेका छन्। घोषणाअनुसार आगामी ३ वर्षका दशैं प्याक भइसकेका छन्।
घोषणा अनुसार आगामी वर्षको दशैंमा ‘छक्का पन्जा ५, बलिदान र बेहुली फ्रम मेघौली’ गरी तीन सिनेमा रिलिज हुनेछन् भने वि.सं २०८२ सालको दशैंमा ‘महाजात्रा’ टिमको नयाँ फिल्म रिलिज हुनेछ भने वि.सं २०८३ मा निश्चल बस्नेतको ‘दिमाग खराब २’ रिलिज हुनेछ।
यसरी कुनै चाडपर्व लक्षित गरेर लगालग सिनेमा घोषणा भएको यो पहिलोपटक हो। यो घोषणामा यी सिनेमाहरु कति खरो उत्रिनेछन् त्यो समयले बताउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।