धनगढी– कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ३ स्थित शिवगंगा नदीमा भइरहेको अवैध नदीजन्य सामग्री उत्खनन् प्रयोग भइरहेका सवारी साधन प्रशासनले नियन्त्रणमा लिएको छ।
राजिवभुगडामा जथाभावी उत्खनन्बारे समाचार प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र नेतृत्वको टोलीले अनुगमनका क्रममा सवारी साधन नियन्त्रणमा लिएको हो।
जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले छ ट्याक्टर, एक टिपर र जेसिबी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चौमालामा बुझाइएको जानकारी दिए।
शिवगंगा खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का सम्झौता गरेको विश्वास कन्स्ट्रक्सनले वातावरणीय प्रभाव मूल्यांकनभन्दा बढी र तोकिएको क्षेत्रभन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानी गरिरहेको नगरपालिकाकै अनुगमन प्रतिवेदनमा उल्लेख छ।
वातावरणीय प्रभाव मूल्यांकन अनुसार सो कम्पनीले कुचौनी घाटमा १५ हजार एक सय २५ घनमिटर र शिवगंगा पुलबाट उत्तरतिर सात हजार आठ सय ७५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने उल्लेख छ।
उनका अनुसार सो क्षेत्रमा रहेका सामुदायिक वनभित्र नै नदीजन्य सामाग्री उत्खनन् भइरहेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।