काठमाडौं– ‘सुल्तान’ तथा ‘टाइगर जिन्दा है’ जस्ता ब्लकबस्टर सिनेमा बनाएका अलि अब्बास जफरको पछिल्लो सिनेमामा ‘बडे मियां छोटे मियां’ निर्माण घोषणा भएदेखि नै चर्चामा थियो।
सिनेमामा पुराना पुस्ताका एक्सन अभिनेता अक्षय कुमार र नयाँ पुस्ताका टाइगर श्राफको अभिनय गर्ने भएकाले सिनेमालाई यस वर्षको प्रतिक्षित सिनेमाको सूचीमा राखिएको थियो।
१० अप्रिल अर्थात् चैत २८ गते रिलिज हुने सिनेमाको हिजो मंगलबार ट्रेलर सार्वजनिक भएको छ। तर, सार्वजनिक ट्रेलरले सिनेमा घोषणा हुँदाको चर्चालाई कम गरेको छ।
निरन्तर सिनेमा हेर्ने मानिसहरुले ३ मिनेट ३१ सेकेण्ड लामो ट्रेलर हेर्दा एकसाथ थुप्रै सिनेमाको झलक हेरिरहेको महशुस गर्छन्। यसले सिनेमाप्रतिको आकर्षण कम गर्ने देखाएको छ।
ट्रेलर सिनेमा सहजै अनुमान गर्नसकिने कथामा बनेको झलक दिन्छ। यसका अक्षय र टाइगरले गरेका एक्सन सिन हेर्दा नयाँ हैन हेरिसकेको पुरानो एक्सन नै गरिरहेको लाग्छ।
ट्रेलर हेरिरहँदा कहिले जेम्स बोन्डको जस्तो त कहिले जोन विक जस्तो देखिन्छ बने कहिले अक्षयकुमारकै सूर्यवंशम हेरेजस्तो भान पर्छ। सिनेमाले देशभक्तिलाई सिनेमा बेच्ने हतियार बनाएको अनुमान गर्नसकिन्छ।
भारतमा पछिल्लो समय भारतीय जनता पार्टी(भाजपा)ले उठाएको उग्र राष्ट्रवादको असर सिनेमामा देखिए सिनेमाले ब्लकबस्टर व्यापर गर्ने सम्भावना भएपनि नेपालमा भने यस्ता सिनेमा थुप्रैपटक वक्सअफिसमा फ्लप भएको उदाहरण छ।
त्यसैले यो सिनेमाका कारण सोही सातामा रिलिज हुने ‘डिग्री माइला’, तथा ‘द रेड सुटकेस’ले तनावको सामाना गर्नपर्ने देखिएको छ। यस्तै अवस्था यो वर्ष सलमान खानको ‘टाइगर-३’ रिलिज हुँदा भएको थियो।
यही मितिमा लागेको ‘दिमाग खराब’लाई सलमानको सिनेमाले असर गर्ने ठानिएको भएपनि वक्सअफिसमा नेपाली वक्सअफिसमा सिनेमाले खास कमाल देखाउन सकेन। नेपालीको रोजाइमा सलमान नभइ निश्चल बस्नेतको ‘दिमाग खराब’ पर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।