काठमाडौं- ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ। ५० प्रतिशत छायांकन रोमानियामा भएपछि फिल्मको सुटिङ रोकिएको थियो।
पछिल्लो सूचना अनुसार फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी भएको छ। फिल्मका निर्देशक मिलन चाम्सले चैत्रको तेस्रो साताबाट फिल्मको छायांकन सुरु हुने जानकारी दिएका हुन्।
रोम-कोम जनराको यो सिनेमामा बधुको भूमिकामा नायिका आँचल शर्मा छिन् भने वरको भूमिकामा डेब्यू नायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन्।
दोस्रो सेड्यूलका लागि नायक विवेकले आफ्नो शरीरलाई थप सुगठित बनाएका छन्। सो शरिरको तस्विरसमेत निर्माण पक्षले सार्वजनिक गरेको छ। सार्वजनिक फोटो हेर्दा विवेकले आफ्नो शरिरि एकदमै आकर्षक बनाएको देख्न सकिन्छ।
कथाको माग अनुसार विवेकले शरीर बनाएको निर्देशक चाम्सको भनाइ छ। फिल्ममा सुदिप बरालको छायांकन छ। डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको छ।
यो फिल्मले विवाहको सांस्कृतिक पक्षलाई पर्दामा देखाउने निर्माणपक्षको दाबी छ। छायांकन सकिएपछि सिनेमाको रिलिज मिति तय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।