काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले सापकोटा र शर्मासहित शेरबहादुर बस्नेत र शरणकुमार खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र नं. ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि उनीहरूले भन्सार प्रणालीबाटै हटाएर अनिमियतता गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
सापकोटा र शर्मासमेतले कानुनविपरीत ८४ लाख ५५ हजार ६०५ राजस्व रकम नोक्सान गराएको ठहर अख्तियारको अभियोगपत्रमा उल्लेख छ। सापकोटा र शर्माविरुद्ध ८४ लाख रुपैयाँ बिगो कायम गरी त्यति नै जरिवाना गराउन माग गरिएको छ।
उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सरकारी कागजात नष्ट/नोक्सान गर्ने गराउने कसुरजन्य कार्य गरे गराएको पुष्टि भएकाले त्यही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना मागसहित मुद्दा चलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।