काठमाडौं– विशेष अदालत काठमाडौंले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेषले ग्रामीण विद्युतीकरण परियोजनामा भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको हो।
विशेष अदालतले अध्यक्ष खड्कासहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ती मध्ये पाँच जना दोषी ठहर भए भने २२ जनाले भने सफाइ पाएका छन्।
खड्कासहित राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो। विशेषले गाउँपालिका अध्यक्ष खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ।
त्यसैगरी न्यौपाने र चौलागाईको एकमा जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने भएको छ।
अध्यक्ष खड्का यसअघि अपहरणको आरोपमा पनि पक्राउ परेका थिए। अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उनीविरुद्ध उजुरी परेको पछि प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।