काठमाडौं- चैत ३० गते रिलिज हुने ‘द रेड सुटकेस’ सिनेमाको टिजर सार्वजनिक भएको छ। भेनिस फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको सिनेमाको सार्वजनिक टिजर 'डार्क थिम'मा रहेको छ।
सार्वजनिक टिजरले मिथ र यथार्थको कोलाजमा नेपालको आप्रवासी परम्परालाई उच्च दृश्यमार्फत प्रस्तुत गर्ने संकेत गरेको छ।
सिनेमाका निर्देशक फिडेल देवकोटाले आफ्ना लागि कथा र कथा भन्ने तरिका महत्वपूर्ण भएको बताउँदै सोही अनुसार टिजर तयार गरेको बताए।
मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको सिनेमाको कथा पनि फिडेलले नै लेखेका हुन्।
सिनेमामा सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठको अभिनय रहेको फिल्ममा अभिनेता प्रवीण खतिवडा रोचक भूमिकामा छन्।
टिजरमा प्रवीण खतिवडालाई मात्र प्रस्तुत गरिएको छ।
‘राम्रो कथामा असल कलाकार सुनमा सुगन्ध हुन्। फिल्ममा देशका उम्दा कलाकारको अभिनय छ। तर टिजरमा हामीले कथा र यसलाई कसरी भनिएको छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ। यस पछाडिका दृश्य सामाग्रीमा बाँकी कलाकार पनि खुल्दै जानुहुनेछ,’ देवकोटाले भने।
सिनेमा गत वर्षको सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको थियो। भेनिसका अलवा सिनेमा संसारको पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन भइसकेको छ।
सिनेमाले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो।
फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो।
आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मका छायाँकार सुशन प्रजापति हुन् भने समन अलभितिगाले सम्पादक हुन्।
श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।