काठमाडौं- नेपाली एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ। चैत १६ गते रिलिज हुने सिनेमाको ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ।
'सलीना' रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित यो फिल्मको सम्पूर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो। त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म भएको दाबी निर्माण पक्षले गरेको छ।
फिल्मका निर्देशक तेजसराज जोशी हुन्। फिल्मलाई निर्देशक जोशीले श्रुति श्रेष्ठसँग मिलेर निर्माण गरेका हुन्। सिनेमामा शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन फिल्ममा छ।
सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पार्श्व स्वर सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार रहेका छन्।
‘सलीना ’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो। असाधारण उद्देश्यले जन्म भएको राजकुमारी अन्यपात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा फिल्मको कथा अगाडि बढेको छ।
फिल्म विशेष गरेर बालबालिका लक्षित भए पनि सर्बैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताए। ‘यो फिल्म निर्माणका लागि ६ बर्ष लागेको छ’, जोशीले भने ‘फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको छ।’ जोशीले सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।